मसलापाटी

२ वर्ष अगाडि / १०३१  पटक हेरिएको

चैत ३०,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट माओवादीका केही नेतालाई एमालेमा प्रवेश गराइसकेका छन् । अझै ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा रहेको प्रधानमन्त्री ओलीले आफू निकटस्थलाई बताएका छन् ।प्रधानमन्त्री ओलीनिकट स्रोतले रातोपाटीसँग भन्यो, ‘प्रधानमन्त्रीज्यू देशैभरिका ३० भन्दा बढी माओवादी नेताहरुको नामलिस्ट नै बोकेर बस्नुभएको छ ।’एमाले र माओवादी विभाजित भएपछि संसदीय सरकारमा मन्त्रीसमेत बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दाबा लामा एमालेमा प्रवेश गरिसकेका छन् । माओवादीले कारवाही गरेपछि प्रधानमन्त्री ओलीले उनीहरुलाई पुनः मन्त्री बनाएका छन् । पूर्वएमालेका त्यागी नेताहरुलाई अवसर नदिएर भए पनि ओलीले नवप्रवेशीहरुलाई सत्तामा प्रथामिकता दिएका छन् ।

काठमाडौं बाहिर प्रदेशस्तरमा पनि माओवादीबाट एमालेमा प्रवेश गर्ने क्रम देखिएको छ । पाँचथरका पुराना माओवादी नेता एवं पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू एमालेमा प्रवेश गरेका छन् । ताप्लेजुङका माओवादी नेता एवं  प्रदेश सांसद टंकबहादुर आङबुहाङ एमालेमा प्रवेश गरेर प्रदेश १ को अर्थमन्त्री बनेका छन् ।

त्यस्तै प्रदेश २ बाट पनि माओवादीका चारजना प्रदेशसभा सदस्यहरु एमालेमा प्रवेश गरेका छन् । माओवादीले चारैजनालाई सांसदबाट कारवाही गरेको छ । प्रदेश २ मा माओवादीका ११ सांसद रहेकोमा अब ७ जना बाँकी छन् ।

लुम्बिनी प्रदेशमा पनि माओवादीका दुईजना सांसदहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि पार्टीले निष्कासनको कारवाही गरिसकेको छ । माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेसँगै उनीहरुको सांसद पद गुमेको छ ।

माओवादीका सांसद घटाउने खेल

माओवादीमा रहेका सांसदहरुलाई एमालेमा तानेपछि माओवादीले उनीहरुलाई कारवाही गर्ने गरेको छ । यसले गर्दा संघ र प्रदेश दुबै ठाउँमा माओवादीको सांसद संख्या घट्दै गएको छ । अर्कोतर्फ, माओवादीबाट नेताहरु एमालेको ओली समूहमा प्रवेश गर्न थालेको सन्देश प्रवाह गरेर प्रधानमन्त्री ओलीले माओवादीप्रति मनोवैज्ञानिक प्रहारको नीति लिएको देखिन्छ ।

माओवादीका सांसदहरुको संख्या घट्दै जाँदा विपक्षी गठबन्धनको गणित कमजोर हुने र एमालेको सरकार टिकाउन सजिलो हुने विश्लेषण एमाले नेताहरुले गर्दै  आएका छन् ।

बालुवाटार स्रोतले भन्यो, ‘अब यो क्रम जारी रहन्छ । निर्वाचनका बेलासम्म माओवादीका धेरै नेताहरु एमालेमा आउँछन्, प्रधानमन्त्रीजीले नेताहरुको सूची नै बनाइसक्नुभएको छ, समय आएपछि उनीहरुलाई पार्टी प्रवेशको घोषणा गराइने प्रधानमन्त्रीले बताउनुभएको छ ।’

माओवादीबाट एमालेमा प्रवेश गरेर हाल खानेपानी मन्त्री बनेका मणि थापा आगामी चुनावसम्म जाँदा माओवादीबाट एमालेमा प्रवेश गर्ने क्रम अरु बढ्ने दाबी गर्छन् । माओवादीका कार्यकर्ताहरु किन एमालेमा प्रवेश गर्न थालेका होलान् ? भन्ने रातोपाटीको प्रश्नमा मन्त्री थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डमा केही पनि वैचारिक भिन्नता रहेन । अब माओवादी आन्दोलन पुनर्संगठित भएर राष्ट्रिय राजनीतिको केन्द्रमा मूल प्रवाह बन्ने आशा कम देखिएकाले माओवादी छाडेर एमालेमा आउने क्रम बढेको हो ।’

एमालेको भविष्य छैन, सत्ताको प्रलोभन मात्रै हो : देवेन्द्र पौडेल

माओवादी केन्द्रका नेता एवं सांसद देवेन्द्र पौडेलचाहिँ माओवादीको भविष्य राम्रो रहेको बरु एमालेको भविष्य चाँहि अँध्यारो रहेको बताउँछन् । ‘एमालेभित्र झगडा छ, देशैभरि समानान्तर कमिटीहरु बनाउँदै हिँडेका छन्,’ पौडेलले भने,‘माओवादीका केही अवसरवादीहरु बाहेक तल्लो तह एक ढिक्का छ, कम्युनिस्ष्ट आन्दोलनको पुनर्गठन माओवादीबाटै सम्भव छ, एमालेबाट होइन ।’

अहिले प्रधानमन्त्री ओली सत्तामा रहेकाले एमालेबाट अनेक प्रलोभन दिएर माओवादीका केही मानिसलाई पार्टीमा प्रवेश गराइएको भए पनि तल्लो तहसम्म पार्टी एक ढिक्का रहेको पौडेलले दोहो¥याए । ‘सत्ताको प्रलोभनमा उता लाग्दा केही पाइन्छ कि भनेर केही साथीहरु गएका छन्, यसलाई माओवादीमा पहिरो गएको भन्न मिल्दैन’ उनले भने, ‘पार्टी फेरेर केही अर्थ छैन, सरकार ढलेपछि त्यहाँ जाने साथीहरुको बिजोग हुन्छ । एमाले आफैं ठूलो आन्तरिक विवादमा फसेको छ ।’ रातोपाटी अनलाइनबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here