मसलापाटी

२ वर्ष अगाडि / ६९०  पटक हेरिएको

चैत २०, काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको हो।

यसका लागि नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिएका छन्।यसैबीच नेता नेपालले बिहिबार पोखरामा आयोजित कार्यक्रममा केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरे। कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने घोषणा गरे।कार्यक्रममा नेता नेपालले कार्यकर्तालाई जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिँदै कमिटीका बैठकहरू नियमित गर्नसमेत सुझाए।

यसको तयारी स्वरूप खनाल-नेपाल समूहले यसअघिनै हरेक प्रदेशमा संयोजक तोकिसकेको छ। नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ । पाण्डेको संयोजकत्वमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटीसमेत गठन भइसकेका छन्।

जस अनुसार कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन् यसअघि यो समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।

यस्तै रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाइसकेका छन्।

यस्तै प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा पनि समानान्तर जिल्ला कमिटी बनिसकेका छन्। यसरी नेपाल नेतृत्वको नेकपा एमालेले अब ७७ वटै जिल्लामा कमिटी बनाएर काम थाल्ने भएको छ।

जिल्ला र प्रदेशमा मात्र नभएर खनाल–नेपाल समूहले जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी बनाउन सुरू गरिसकेको छ। काठमाडौंमा चैत ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले विद्यार्थी, महिला, युवा संघको राष्ट्रिय भेला गरेर केन्द्रीय कमिटी बनाइसकेको छ।

यसअघि बुधबार मात्रै नेता नेपालले आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताएका थिए।

‘हाम्रो पनि भवनको खोजी जारी छ । कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला, त्यो भन्दा (थापाथलीको) पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ । हामी धन्यवाद नै भन्ने छौं सहयोगका लागि,’ उनले भनेका थिए।

यसबाट पनि अब नेता नेपालले चाँडै पार्टी खोल्ने निश्चित भएको छ।

नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागेको बताएका हुन्।उनले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धारासायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्‍याउन नदिने संकल्प समेत गरेका छन्। त्यसका लागि देशै भरका कम्युनिष्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी रुवरुप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पारे।

‘हामी आन्दोलनलाई नयाँ उचाईमा नयाँ शिराबाट उठाउन चाहन्छौं । आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्‍याउन चाहिरहेका छौं र हाम्रो सङ्कल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्‍याउन दिने छैनौं । यो हाम्रो सङ्कल्प हो । यो सङ्कल्पमा साथ दिनका लागि देशैभरिका कम्युनिष्ट आन्दोलनका योद्धाहरु, नेपाल कम्युनिष्ट पार्टी एमालेका योद्धाहरु यही चैत्र ४ र ५ गतेका दिनमा भेला हुनुभएको छ,’ उनले भने, ‘साढे चार हजार देखि ५ हजारको उपस्थितिमा भएको त्यो भेलाले घोषणा गरेको छ कि हामी कम्युनिष्ट पार्टीको एकताको पक्षमा छौं, कम्युनिष्ट आन्दोलनलाई सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरुप दिने पक्षमा छौं र हामी आम जनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशिल बनाउने पक्षमा छौं।’

आफूहरुको विचार माक्र्सवाद र लेलिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको बताए। उनले आफूहरू सामाजिक न्याय सहितको आर्थिक रुपान्तरणको पक्षमा रहेको बताए। विचार, सङ्गठन, गतिशिलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने पनि नेता नेपालले स्पष्ट पारे।

नेता नेपाल र उपाध्यक्ष भीम रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीविरोधी गतिविधिमा केन्द्रित रहेको र स्पष्टीकरणको चित्तबुझ्दो जबाफ नदिएको भन्दै अध्यक्ष केपी ओलीले ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका छन्।

सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्कियो। तर एमालेभित्रको विवाद र त्यसमा खनाल–नेपाल समूहले चालेका कदमलाई हेर्दा खनाल–नेपाल समूह भिन्दै पार्टी गठनको तयारीमा रहेको बुझ्न सकिन्छ।सेतोपाटी अनलाइनबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here