मसलापाटी

३ वर्ष अगाडि / ४१२  पटक हेरिएको

१७ चैत्र , मंगलबार

काठमाडौँ । एमाले नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग दुई घण्टा लामो छलफल गरेर कोटेश्वरस्थित एक व्यापारीको घरबाट निस्किँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उनलाई कारबाही गरेको पत्रमा सही गरीवरी नेपाल र बंगलादेशको फुटबल हेर्न रंगशालातिर लागेका थिए ।माले मोरङ, कोअर्डिनेसन केन्द्र हुँदै २०३५ सालमा माले पार्टी बनेयता मुख्य जिम्मेवारीमा एकछत्र रहँदै आएका नेता नेपाललाई पहिलो पटक सोमबार उनको पार्टी (एमाले) ले निलम्बन गरेको हो ।निलम्बनमा परेसँगै नेपालका अगाडि दुइटा विकल्प छन्– एमालेमा समानान्तर कमिटीहरू बनाउँदै जाने वा ओली नेतृत्वको एमाले पार्टीबाहेकका वामपन्थीहरूसँग मिलेर कम्युनिस्ट पार्टीलाई नयाँ स्वरूपमा स्थापित गर्ने । स्पष्टीकरण सोधिएयता नै ओलीले यो कदम चाल्छन् भन्ने विषयमा लगभग निश्चितजस्तै भएका नेपालको गतिविधि यी दुवै विकल्पमा केन्द्रित छ । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भइरहेको बाक्लो संवादको अन्तर्य पनि यही हो । उनीहरूसम्बद्ध स्रोतका अनुसार आगामी राजनीतिको दृश्य भने अझै स्पष्ट भइसकेको छैन । ‘अहिलेसम्म माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिन्छ र नेकपाको एकतालाई नमान्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन्छ भन्ने निश्चित भइसक्यो,’ नेपालसम्बद्ध स्रोतले कान्तिपुरसँग भन्यो, ‘तर ओलीलाई समर्थन फिर्ता लिए पनि अविश्वासको प्रस्ताव दर्ता हुन्छ या हुँदैन भन्ने निश्चित भएको छैन, माधवजीहरूको अबको बाटो त्यसपछि थप क्लियर होला ।’ ओली र नेपालको सहयात्रा भने पछिल्लो घटनाक्रमले विसर्जनोन्मुख नै देखिन्छ, यसको तात्कालिक असर नेपाललाई परे पनि दीर्घकालीन अप्ठ्यारो एमालेलाई नै हुनेछ ।

ओलीले सोमबार पाँचबुँदे आरोपसहित नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेसँगै अदालतले एक ठाउँमा ल्याइदिएको एमाले नेताहरू आफ्नै व्यवहारका कारण थप तितरबितर बन्ने स्थिति आएको हो । ओलीले निलम्बन गरिएको पत्रमा आपराधिक मनोवृत्ति पुष्टि भएको भन्दै नेपाल र रावलमाथि संगीन आरोपसमेत लगाएका छन् ।

‘पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुटभेला तथा पार्टीलाई कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने तथा निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुरा उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ ओलीले निलम्बन पत्रमा लेखेका छन्, ‘आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति थप प्रस्ट रूपमा पुष्टि भएको छ ।’महासचिव ईश्वर पोखरेलले गत चैत ८ गते सोधेको स्पष्टीकरणको जवाफ नेपाल र रावलले गत बिहीबार दिएका थिए । त्यही दिन ओलीले स्पष्टीकरणमा चित्त नबुझाएर नेपाल र रावल कारबाहीयोग्य भएको टिप्पणी गरिसकेका थिए । पार्टीभित्रको एकता कायम राख्नुपर्छ भन्दै झलनाथ खनाल–नेपाल समूहका सांसदहरू शुक्रबारको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए । तर ओलीले नेपाल र रावलमाथि कारबाहीको डन्डा चलाएपछि एमालेभित्रको विभाजित मानसिकता थप बढेको छ । नेता नेपालले अब तल्ला तहसम्म समानान्तर कार्यक्रम हुने र आफ्नोतर्फको संगठन मजबुत बनाउने बताए । ‘यस्ता धाकधम्कीबाट कोही डराउनेवाला छैन, समानान्तर गतिविधि अघि बढाइन्छ, देशव्यापी रूपमा अघि बढिन्छ, केपी ओलीको तानाशाही प्रवृत्ति र निरंकुशताविरुद्ध लडिन्छ,’ नेता नेपालले कान्तिपुरसँग भने, ‘चुनौतीहरू छन् तर डराउनु हुँदैन, हाम्रो कमिटी बलियो बनाउँछौं ।’ओलीले आफ्ना पुराना सहयात्रीलाई सच्चिनका लागि अन्तिम मौका हो भन्दै लेखेको निलम्बन पत्रमा समानान्तर गतिविधि गरे थप कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन् । ‘आपराधिक क्रियाकलाप स्विकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर उन्नति तथा विकासका लागि समाहित हुनुका साथै विगतमा भए गरेका गलत तथा आपराधिक क्रियाकलापप्रति प्रायश्चित गर्ने अवसरलाई गम्भीरताका साथ लिनुको साटो उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनाधिकृत र हास्यास्पद काम गरेको देखियो,’ ओलीले निलम्बन पत्रमा लेखेका छन्, ‘अहिले पनि पार्टीविरोधी, फाटोवादी र गुटगत कामहरू नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनमा निरन्तरता दिइरहनेतर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिँजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको छ ।’यसरी एकलौटी निर्णय गर्दा ओलीले आफैंले नेतृत्व गरेको पार्टी एमाले आउँदो दिनमा झन् कमजोर बन्ने सम्भावनालाई भने नकारेका छन् । विश्लेषक विष्णु सापकोटा यही हिसाबमा अहिलेकै परिस्थितिमा हेर्दा ओली नेतृत्वको एमाले थप कमजोर बन्दै जाने आकलन गर्छन् । ‘माधव नेपाल भनेको एक हिसाबमा आधा एमाले हो । निलम्बन पत्रले ओली कुन हदसम्म बदलाको भावले परिचालित हुन सक्छन् भन्ने देखाउँछ । अहिले केन्द्रीय कमिटीको पूर्ण बैठकसमेत छलेर प्राविधिक रूपमा हतारहतार कारबाही भनिएको छ । पार्टीमा अन्तर संघर्ष हुन्छ तर यो कारबाही हामी बाहिरबाट हेर्नेहरूका लागि पनि क्रूर देखिन्छ,’ उनले भने, ‘अब वातावरण यस्तो बनाइएको छ कि यो त अति भयो भनेर कोही बोल्न सक्छन् जस्तो लाग्दैन । अब बोल्नु भनेको योभन्दा कठोर सजाय भोग्नुपर्छ भन्ने पार्न खोजिएको छ । तर पनि समयको कुरा हो, ओलीको विरुद्ध भित्रैबाट विद्रोह पनि हुन सक्छ । नभए ओली एमाले खिरिलो हुँदै सकिँदै जाने नै हो ।’

सापकोटाले भनेजस्तै अरू कडा कारबाही गर्ने संकेत ओलीले निलम्बन पत्रमा पनि दिइसकेका छन् । ओलीको निर्णयअनुसार नेपाल र रावल ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत रहने छैनन् । गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि विभक्त नेकपाको दाहाल–नेपाल खेमाले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए । सर्वोच्च अदालतको फैसलापछि विभाजित पार्टीमा गतिविधि गरिरहेको नेपाल खेमाले एमालेमै रहने निधो गरेको थियो । त्यसलाई कतिपयले सांसद पद जोगाउनका लागि राजनीतिक सिद्धान्तसँग सौदाबाजी गरेको भनेर व्याख्या गरे । नेपाल पक्षीय एमालेकै नेताहरूबीच अब कसरी अघि बढ्ने भन्नेमा समेत एकमत भएन । अध्यक्ष ओलीले बोलाएको संसदीय दल बैठकमा जाने कि नजाने भन्नेमै मत बाझिँदा कतिपय सांसद आधा बाटोमा पुगेर पनि फर्किए । तर पछिल्लो संसदीय दलको बैठकमा उपस्थित सांसदहरूले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने राय राखेका थिए ।त्यसका लागि ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता हुनुपर्ने उनीहरूको माग थियो । तर प्रधानमन्त्री ओली झन् कठोर देखिए, उनको कठोरपनको अर्को पटाक्षेप सोमबार भएको हो । ओलीनिकट स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ पार्टी नेतृत्व र बहुमत दुवैमा ओली नै रहेकाले एकता जोगाउन चाहने नेताले जता पनि निहुँ खोज्दै हिँड्न नहुने बताउँछन् । ‘हरेक आन्दोलन फेरि उस्तै हुन त गाह्रो हुन्छ नि । शत्रुतापूर्ण ढंगले लागेकाहरूलाई एक ठाउँमा बस्न समस्या पनि भयो होला । हामीले उहाँहरूसँग धेरै पूर्वाग्रह राख्नु हुँदैन, उहाँहरूजस्तो मान्छेले सानो सानो कुरामा निहुँ खोज्नु हुँदैनथ्यो,’ उनले भने, ‘आन्दोलनमा ढंग पुर्‍याउनुपर्छ ।’ उनले निलम्बन पत्रमार्फत सचेत मात्रै गराइएको बताए ।प्रतिनिधिसभालाई असंवैधानिक तरिकाले विघटन गर्नुअघि ओलीले नेतृत्व गरेको नेकपामा भाँडभैलो थियो । ओलीले चाहेकै कुरा हुने सम्भावना एकदमै न्यून थियो । तर पुस ५ पछि उनका कदममा हस्तक्षेप र नियन्त्रण गर्नेहरू भएनन्, उनले पार्टीमा चाहेको निर्णय फटाफट गर्न पाए । उनी यही शैलीमा अभ्यस्त भइरहेका बेला अदालतले एमाले ब्युँतायो । ओलीले नेतृत्व गरिरहेको एउटा पंक्ति अदालतको निर्णयबाट खुसी भयो, त्यो खुसी हुनेहरूको समूहमा ओली छुट्ने कुरै थिएन । तर बाटो मोडिसकेका नेपाललगायत नेता पनि आफूसँग हुनुलाई ओलीले तगारोका रूपमा लिए, नेपालले पनि एमालेमा ओलीसितै रहन अप्ठ्यारो माने । फलस्वरूपमा यी दुवैको नेतृत्वमा पार्टीभित्र समानान्तर गतिविधि हुन थाल्यो । त्यसैलाई आधार मानेर ओलीले नेपाल र रावललाई कारबाही गरेका हुन् ।

उपाध्यक्ष रावलले भने विदेशी शक्तिको आडमा नेकपा विघटन गरेका ओलीले एमाले पनि विघटन गर्न लागेको बताए । ‘ओलीले पहिलो चरणमा नेपालको संविधान र आफैंले हस्ताक्षर गरेको कम्युनिस्ट पार्टीबीचको एकतामाथि प्रहार गर्नॅभयो, दोस्रो चरणमा गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनुभयो । तेस्रो चरणमा पार्टी विधान कुल्चँदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारजना नेतालाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनुभयो,’ उनले भने, ‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो ।’

नेपाल र रावलसहितका नेताहरूले गत कात्तिक पहिलो साता भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँगको भेटपछि ओलीले मुलुकको संविधान, संसद् र कम्युनिस्ट पार्टी तहसनहस पार्न सकेजति प्रयास गरिरहेको आक्षेप लगाएका छन् । एमालेमा यसअघि पनि यस्ता खाले अन्तरसंघर्ष नभएका होइनन् । अन्तरसंघर्ष र नेताहरूको निजी कुण्ठाका कारण आसलाग्दो भनिएका नेताहरूको अन्त्य अत्यास लाग्दो देखिएको छ । २०३५ सालमा कोअर्डिनेसन केन्द्रको महासचिव भएका बेला सीपी मैनालीलाई कम्युनिस्ट नेताहरू दक्षिण एसियाकै ताराका रूपमा व्याख्या गर्थे । पछि मोहनचन्द्र अधिकारीलाई नेल्सन मन्डेलाको उपाधि दिए ।

पार्टीभित्रकै छिनाझपटीले यी नेताहरूको ओज पछिसम्म बाँकी रहेन । बहुदलीय अभ्यास थालेपछि प्रायः एउटै समूहमा रहने नेपाल र ओलीको बाटो २०६० सालदेखि अलग्गिँदै आएको हो । कुनै बेला नेपालले एमाले चलाउँदा ओलीले मदन भण्डारी फाउन्डेसनमार्फत समानान्तर पार्टी नै चलाएका थिए । विश्लेषक हरि रोक्का पछिल्ला गतिविधिले एमालेलाई विसर्जनकै बाटोतिर धकेलेको बताउँछन् । ‘ओलीतिर लागेका कसैले पनि संगठन बनाएका होइनन् । अर्कातिर माधव नेपालको पनि कमजोरीका कारण एमाले अप्ठ्यारोमा परेको हो । त्यति हुँदाहुँदै पनि पार्टीको मूल जरोमा त माधव रहन्छन्,’ उनले भने, ‘पछि के हुन्छ, समयले निर्धारण गर्ला ।’आजको कान्तिपुर दैनिकमा खबर छ। 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here