सरोज निरौला

१ वर्ष अगाडि / ५२६  पटक हेरिएको

उदयपुर १५,असार। लगातारको वर्षाले सदरमुकाम त्रियुगासहित चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका बिभिन्न नदी खोला र खहरेहरु उर्लेर डुबान र कटान सुरु भएको छ । त्यस्तै पहाडी भेगका सडक भत्के, पुरिएका कारण यातायात सेवा अवरुद्ध हुन पुगेको छ । वर्षाका कारण त्रियुगा नदीमा पछिल्लो २४ घण्टायता बाढी ह्वात्तै बढेर डुबान र कटानको जोखिम बढेको छ । त्रियुगासँगै आसपासका बरुवा, लुहाले, ठाडी, बगाहा, सरस्वती, शाही, कङ खोलामा बाढी आउँदा किनार छेउछाउका बस्तीहरु डुबानमा परेका छन् ।

वर्षाले पहाडमा पहिरो र तराईमा बाढीले स्थानीयलाई समस्यामा पारेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सदरमुकामका केही ठाउँमा त्रियुगा र बरुवाले डुबान र कटानको समस्या निम्त्याएको बताए ।

उनका अनुसार अहिलेको वर्षाले कटारी नगरपालिका १० को तिल्केनी चौर पहिरोको जोखिमा परेको छ । जोखिमका परेका आधादर्जन घरधुरी गाउँलेलाई सुरक्षित स्थानमा बास राख्ने व्यवस्था मिलाउन कटारी नगरपालिका र नेपाल रेडक्रस सोसाईटीसँग समन्वय गरेर प्रक्रिया अघि बढाइएको उनले बताए ।

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले त्यहाँ रहेका १७ घरधुरीमध्ये ७ परिवार जोखिममा परेकाले उनीहरुको सुरक्षाका लागि नगरपालिकाले आवश्यक कदम चालेको बताएका छन् ।लगातार वर्षापछि तिल्केनी चौरको बस्ती पहिरो जाने गरी चर्किएको पाइएपछि उनीहरुलाई सुरक्षित ठाउँमा आवश्यक जमिनको खोजी भईरहेको मेयर श्रेष्ठले बताएका छन् ।वर्षाका कारण त्रियुगा र कटारीसँगै बेलका र चौदण्डीगढी नगरबासीलाई पनि व्यापक प्रभावित पारेको स्थानीयले जनाएका छन् ।

यता र्कुची–भुट्टार, मुर्कुची–माझखर्क, रसुवा–चनौटे–बलम्ता, कटारी–बेतिनी–ताप्ली खण्डका सडकहरु सबै भत्केर यातायात आउजाउ ठप्प भएको छ । मुर्कुची–माझखर्क खण्डको सिन्कौलेमा झण्डै ३ सय मिटर सडकको ठाउँठाउँमा पहिरो जाँदा ४ दिनयता साना ठूला यातायात सवारी ठप्प हुन पुगेको छ ।

यसैबीच त्रियुगा नगरप्रमुख बसन्त बस्नेर र उपप्रमुख महेश्री राईले बिभिन्न कटान र डुबान क्षेत्रको बुधबार दिउसो अनुगमन गरेका छन् । त्यस्तै बेलका नगरप्रमखु अशोक कार्की र उपप्रमुख जीरा राई तथा चौदण्डीगढी नगरप्रमुख कालु लामा र उपप्रमुख मणिका दुलालले पनि बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here